दाङ– चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता, ८५ वर्षीय ललितबहादुर वलीको निधन भएको छ। शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर उनको निधन भएको परिवारले जनाएको छ।
गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’ भएको जानकारी दिएकी छन्। उनका अनुसार पार्थिव शरीर अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि तुलसीपुरको निजी निवास ‘दिपा–ललित निवास’ (बाहिनी गेट नजिकै) मा राखिएको छ।
स्वर्गीय ललितबहादुर वली केवल एक अभिभावक मात्र नभई दाङको साहित्यिक र सामाजिक क्षेत्रका सक्रिय व्यक्तित्व थिए। वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन्। उनका सातवटा गीत रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी भैलो, तीज र भजनहरू समावेश छन्। कोमल वलीका धेरै गीतहरूमा उनले मोडलिङ समेत गरेका छन् र आफैँ पनि कुशल गायक थिए।
ललित दाङको सामाजिक र साहित्यिक संस्थाहरूमा महत्त्वपूर्ण जिम्मेवारीमा थिए। उनी दाङ ज्येष्ठ नागरिक जिल्ला सङ्घ, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान र पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरका सदस्य थिए। ज्येष्ठ नागरिकहरूको सेवामा समर्पित उनको सम्मानमा परिवारले ‘ज्येष्ठ नागरिक प्रतिष्ठान’ स्थापना गरेको थियो।
शारीरिक रूपमा ठुलो रोग नभए तापनि उमेरका कारण केही कमजोर रहेका ललित, केही समयअघि पत्नी (कोमल वलीकी आमा) को निधनपछि मानसिक रूपमा पनि केही पीडित भएका पारिवारिक श्रोतले जनाएका छन्।
