बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका प्रादेशिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालमा छड्के अनुगमन र निरीक्षण अभियान सुरु गरेको छ। यस अनुगमन टोलीको नेतृत्व स्वास्थ्य मन्त्री किरण थापामगर ले गरेका छन् भने टोलीमा स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, पूर्वस्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाल लगायतको समावेश छ। अनुगमन बिहीबारबाट प्रारम्भ भएको हो।
यसै क्रममा ललितपुरस्थित बज्रबाराही चापागाउँ प्रादेशिक अस्पतालको सेवा सञ्चालन र प्रदेश स्वास्थ्य मन्त्रालयको करिब रु १४ करोडको बजेटमा निर्माण भइरहेको नयाँ भवनको निरीक्षण गरिएको छ। मन्त्री थापामगरले निर्माण कार्यमा केही संरचना अपुग र अव्यवस्थित देखिएपछि निर्माण सम्पन्न हुनु अगावै सुधार गर्न निर्देशन दिएका छन्। उनले दुर्गम क्षेत्रका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. लक्ष्मण खड्का सहितको टोलीलाई विशेष निर्देशन दिएका छन्।
मन्त्री थापामगरका अनुसार, बज्रबाराही अस्पतालमा हाल २५ शय्या स्वीकृत भए पनि सबै सञ्चालनमा छैनन्, र अस्पताललाई छिट्टै ५० शय्यामा विस्तार गर्ने योजना रहेको छ। शल्यक्रिया सेवा सञ्चालन गर्न एनेस्थेसिया डाक्टर पठाए पनि सेवा सुरु हुन नसकेकोले तत्काल सुधार आवश्यक छ। मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम ले शल्यक्रिया, प्रयोगशाला र अन्य स्वास्थ्य सेवामा आएका गुनासाहरू सुधार गर्न निर्देशन दिइन्।
अनुगमन टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको निरीक्षण गर्दै, मन्त्री थापामगरले जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलाल लाई दुर्गम गाउँपालिका र क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
प्रदेशअन्तर्गतका १३ जिल्लाका प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको अवलोकन अभियान निरन्तर चलाइनेछ। मन्त्री थापामगरले प्रत्येक गाउँमा स्वास्थ्यको सहज पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको र आफ्नो जिम्मेवारी पालन गर्न सबै स्वास्थ्यकर्मीलाई आवश्यक निर्देशन दिन अनुगमन निरन्तरता पाउने बताए।
