इरान ले मलेसियाली जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न अनुमति दिएको अनवर इब्राहिम ले बताएका छन् । बिहीबार टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै उनले इरानका राष्ट्रपति मसुद पेजेश्कियन प्रति धन्यवाद व्यक्त गर्दै मलेसियाली जहाजहरूलाई छिटो अनुमति दिइएको जानकारी दिए ।
प्रधानमन्त्री इब्राहिमले मलेसियाली तेल ट्याङ्करहरू तथा त्यसमा संलग्न कामदारहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको बताए । यद्यपि, कति जहाजले हर्मुज जलडमरूमध्य पार गरिसकेका छन् वा कस्तो सर्तमा अनुमति दिइएको हो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने स्ट्रेट अफ हर्मुज हाल इरान, संयुक्त राज्य अमेरिका र इजरायल बीचको बढ्दो तनावका कारण प्रभावित बनेको छ ।
मलेसिया ले परम्परागत रूपमा असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको भए पनि ऊर्जा आपूर्ति अवरोधका कारण देश प्रभावित भएको प्रधानमन्त्री इब्राहिमले स्वीकार गरेका छन् । उनले पेट्रोनास जस्तो सरकारी ऊर्जा कम्पनीको क्षमताका कारण मलेसिया अन्य देशहरूको तुलनामा अपेक्षाकृत राम्रो अवस्थामा रहेको उल्लेख गरे ।
मलेसिया विश्वकै प्रमुख एलएनजी आपूर्तिकर्तामध्ये एक भए पनि करिब ७० प्रतिशत कच्चा तेल खाडी क्षेत्रबाट आयात गर्छ । सम्भावित ऊर्जा संकटलाई मध्यनजर गर्दै सरकारले इन्धन बचतका उपायहरू अघि सारेको छ ।
यस अन्तर्गत सहुलियत दरको पेट्रोलको मासिक कोटा घटाउने, साथै सरकारी कर्मचारीलाई चरणबद्ध रूपमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने योजना समावेश गरिएको छ ।
