बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएको छ । रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नवनियुक्त प्रधानमन्त्री शाहले आजै शपथ लिने कार्यक्रम तय गरिएको छ । शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा हुने समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिनेछन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतको सरकार गठन प्रक्रिया अघि बढाइएको हो । शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने जनाइएको छ ।
प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूले पनि आजै शपथ लिने तयारी गरिएको स्रोतले जनाएको छ ।
