नेपाल सरकारले इन्धनको मूल्यमा गरेको हालैको वृद्धिप्रति निर्माण व्यवसायी संघ कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका महासचिव विक्रम विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा इन्धन मूल्यवृद्धिले निर्माण क्षेत्रसँगै समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने उल्लेख गरेका छन्।
विज्ञप्तिअनुसार निर्माण क्षेत्र प्रत्यक्ष रूपमा इन्धनमा निर्भर रहने भएकाले मूल्यवृद्धिले निर्माण लागत अत्यधिक बढाएको छ। यसको प्रभावस्वरूप चालु आयोजनाहरू प्रभावित भएका छन् भने नयाँ परियोजना कार्यान्वयनमा समेत कठिनाइ उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ। इन्धन महँगो हुँदा विकास निर्माणको गति सुस्त हुने र आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर पर्ने संघको ठहर छ।
यस अवस्थालाई ध्यानमा राख्दै निर्माण व्यवसायीहरूले सरकारसँग इन्धन मूल्यवृद्धिको निर्णय पुनर्विचार गर्न माग गरेका छन्। साथै, निर्माण क्षेत्रलाई लक्षित गरी विशेष राहत तथा सहुलियत प्याकेज ल्याउन र दीर्घकालीन रूपमा इन्धन मूल्य स्थिर राख्ने नीति अवलम्बन गर्न आग्रह गरेका छन्।
संघले आफ्ना मागप्रति सम्बन्धित निकाय गम्भीर नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ। देशको विकास र आर्थिक स्थायित्वका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको जनाउँदै संघले यस विषयमा शीघ्र ध्यान दिन सरकारलाई आग्रह गरेको छ।
