काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस क्लब ले बागमती प्रदेश लाई ७ विकेटले पराजित गरेको छ।
पुलिस क्लबका ओपनर शंकर राना ले उत्कृष्ट शतक प्रहार गर्दै टोलीलाई जित दिलाए। उनले १२८ बलमा १३ चौका र ४ छक्कासहित ११६ रन बनाए। अर्का ओपनर दिनेश खरेलले ७० रनको महत्वपूर्ण योगदान दिए। कप्तान आरिफ शेख ४३ रनमा अविजित रहे।
बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिस क्लबले ४४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। यस जितसँगै पुलिस क्लब ४ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान अंक भएको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ।
यसअघि मूलपानी क्रिकेट मैदान मा टस जितेर ब्याटिङ गरेको बागमती २६५ रनमा अलआउट भएको थियो। बागमतीका लागि पवन थापाले ७९ र इशान पाण्डेले ७० रन बनाए।
पुलिस क्लबका रासिद खान र दिनेश खरेलले समान ३ विकेट लिए भने करण केसीले २ र ललित राजवंशीले १ विकेट हात पारे।
