काठमाडौँ । केपी शर्मा ओलीले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम अनपेक्षित, अपत्यारिलो र ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओलीले बिहीबार नवनिर्वाचित सांसदहरूको शपथपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले यस निर्वाचनमा पार्टीले अभूतपूर्व धक्का व्यहोरेको उल्लेख गरे।
निर्वाचन प्रक्रिया र परिणामबारे तत्काल विस्तृत टिप्पणी गर्ने समय नभएको उल्लेख गर्दै ओलीले पार्टी वैचारिक रूपमा सही मार्गमै रहेको तर संगठनात्मक रूपमा केही कमजोरी देखिएको स्वीकार गरे। ‘हामी बिग्रेका छैनौँ, तर आफ्ना सही नीतिमाथि भएको प्रहारलाई सामना गर्न सकेनौँ,’ उनले भने।
ओलीले घृणाको राजनीति गर्ने शक्तिहरूलाई विभिन्न पक्षबाट सहयोग पुगेको आरोप लगाउँदै आफ्नो पार्टीको दृष्टिकोण र अडान सही रहेको दाबी गरे। साथै उनले सांसदहरूलाई पार्टीको मूल विचारअनुसार मात्रै संसद्मा अभिव्यक्ति दिन निर्देशन दिँदै जनतालाई भ्रममा पार्ने होइन, सचेत बनाउने भूमिका निर्वाह गर्न आग्रह गरे।
