काठमाडौँ । सिजनल भिसामा विदेश जान लागेकाहरूसँग रकम असुल्ने आरोपमा एक ट्राभल्स सञ्चालकलाई अध्यागमन विभागले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लमजुङ घर भई लाजिम्पाटस्थित केएनसी इन्टरनेशनल प्रालिका सञ्चालक जगत गुरुङ रहेका छन्। अध्यागमन विभाग का अनुसार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो को सहयोगमा लाजिम्पाटबाट नियन्त्रणमा लिइएको हो।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार गुरुङले सिजनल भिसामा विदेश जान खोजेका एक दम्पतीसँग ‘अध्यागमनमा सेटिङ मिलाउनुपर्छ’ भन्दै १ लाख १० हजार रुपैयाँ मागेका थिए। सोही क्रममा उनीबाट १ लाख रुपैयाँ नगदसमेत बरामद गरिएको छ।
दक्षिण कोरियामा कृषि क्षेत्रमा ६ देखि ८ महिनासम्म काम गर्न जाने सिजनल भिसाधारीलाई श्रम स्वीकृति आवश्यक नपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले सहजै प्रस्थान अनुमति दिने व्यवस्था रहेको विभागले जनाएको छ।
तर, आरोपित गुरुङले श्रम स्वीकृति र अध्यागमन प्रक्रियाका नाममा अतिरिक्त रकम बुझाउनुपर्ने भनी सेवाग्राहीलाई झुक्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीको जिम्मा लगाइने बताइएको छ।
