काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा सकारात्मक रौनक देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.२१ अङ्कले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। दिनभर उतारचढाव देखिए पनि बजार अन्त्यमा बढेर बन्द भएको हो।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने तय भएकाले सो दिन सेयर बजार बन्द रहनेछ। त्यसैले सरकार गठनअघिको अन्तिम कारोबार आज नै भएको हो भने अब आइतबार मात्रै बजार खुल्नेछ।
आज कुल ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता सेयर १ लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका कम्पनीहरूमध्ये १७८ को मूल्य बढ्दा ८० कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेका छन्।
समूहगत सूचकमा विकास बैंक, जीवन बीमा र ट्रेडिङ समूह घटेका छन् भने म्युचुअल फण्ड स्थिर रहँदा अन्य अधिकांश समूहमा वृद्धि देखिएको छ। आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको मूल्य १० प्रतिशतले बढेको छ भने सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फास्ट्रक्चर शीर्ष स्थानमा रहेको छ, जसको ९४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि एसवाई प्यानल र नेशनल हाइड्रोपावरको उल्लेख्य कारोबार भएको छ।
