चितवन । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनीबाट जलेका मालपोत कार्यालय भरतपुरका अभिलेख पुनःस्थापना गर्दै अहिले ८ हजार नयाँ श्रेस्ता कायम गरिएको छ। कार्यालयमा करिब २ लाख हाराहारी पुराना श्रेस्ता रहेको अनुमान छ, तर आगजनीका कारण सबै जलेर नष्ट भएका थिए। सोहीअनुसार मालपोत कार्यालयले भरतपुरका सातवटै पालिकालाई नयाँ श्रेस्ता कायम गर्न पत्राचार गरेको थियो। कात्तिक महिनादेखि फागुनसम्म दैनिक करिब ९० वटा हाराहारी श्रेस्ता कायम हुँदै आएको कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिए।
अभिलेख नष्ट भएपछि जग्गा बिक्रि, वितरण वा वन्दकलगायत कामका लागि नयाँ श्रेस्ता अनिवार्य भएको छ। कामको चापका कारण प्रारम्भमा ती काममा परेका नागरिकको मात्र श्रेस्ता कायम गरिएको भए पनि क्रमशः अन्यको हकमा पनि नयाँ श्रेस्ता जारी गरिने तयारी भइरहेको छ। नयाँ श्रेस्ता कायम गर्न नागरिकता प्रमाणपत्रको प्रतिलिपि, स्थानीय तहबाट प्राप्त सिफारिस, सक्कल पूर्जा, लिखित प्रमाण, फिल्डबुक, नक्सा, रजिष्ट्रर, चालू आवको मालपोत रसिद, रोक्का भएको जग्गाको सहमति, स्थलगत सर्जमिन, सार्वजनिक सूचना र आवश्यक परे गुठी जग्गाका लागि गुठी संस्थानको सहमतिपत्र लगायत कम्तीमा १० प्रकारका कागजात आवश्यक पर्ने जानकारी अधिकारीले दिएका छन्।
भरतपुर महानगरपालिकाका केही वडाहरु, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा क्षति पुगेको र सबै स्थानमा नयाँ श्रेस्ता कायम गर्नुपर्ने हुँदा कार्यालयले क्रमिक रूपमा काम अघि बढाइरहेको छ। हाल कार्यालयको भवन पूर्ण रूपमा काम गर्न नसक्ने अवस्था रहेकाले टहरामा काम भइरहेका छन् र नयाँ श्रेस्ता भण्डारणमा पनि चुनौती देखिएको छ।
