काठमाडौँ । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको बयान गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनमा समेटिएको छ।
प्रतिवेदनअनुसार आन्दोलनका क्रममा घाइते भएका २८ जना प्रदर्शनकारीले सुरक्षाकर्मीबाट बिना चेतावनी निहत्था नागरिकमाथि ‘ताकी-ताकी’ गोली प्रहार गरिएको दाबी गरेका छन्। उनीहरूको बयान अनुसार शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा प्रहरीले एक्कासि अश्रुग्याँस, रबर बुलेट र घातक धातुका गोली (लाइभ राउन्ड) प्रहार गरेको छ। अधिकांश घाइतेले घुँडाभन्दा माथि, छाती, पेट, टाउको र आँखामा गोली लागेको बताएका छन्।
भर्खरै एमबीबीएसको प्रवेश परीक्षा पास गरेकी १७ वर्षीया एकता शाहले बानेश्वरमा प्रदर्शन हेरिरहेको बेला दायाँ घुँडामा रबर बुलेट लागेर गम्भीर घाइते भएकी बताइन्छ। कुमार उपाध्यायले आफ्नो घरको छतमा उभिएर हेरिरहेको अवस्थामा प्रहरीले चलाएको गोली पाखुरा हुँदै फोक्सो र ढाडसम्म पुगेको बयान दिएका छन्। अर्का घाइते राम चर्माकारले कलंकीमा सुरक्षाकर्मीले १५–२० मिटरको दुरीबाट बिना चेतावनी हानेको गोली सिधै आफ्नो आँखामा लागेको बताए।
उग्र समूहले भदौ २४ गते कोटेश्वरमा एक जना प्रहरी हवल्दारलाई मार्ने प्रयास गर्दा गीताकुमारी शाहलाई बचाउने क्रममा पेट्रोल जस्तो तरल पदार्थ छर्केर आगो लगाइएको र उनका शरीरको ४० प्रतिशत भाग जलेको प्रतिवेदनमा उल्लेख छ। यसका कारण उनी अझै उठबस गर्न असमर्थ छिन्।
प्रतिवेदनमा कुल २ हजार ५२२ जना घाइते भएको उल्लेख छ। झडपमा १ हजार ३२८ जना प्रदर्शनकारी र २ हजार ६८ जना सुरक्षाकर्मी घाइते भएका थिए। विशेष गरी काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रतिवेदनले देखाएको छ। सुरक्षाकर्मीले भिड नियन्त्रणको बहानामा अन्धाधुन्ध बन्दुक र रबर बुलेट प्रयोग गर्दा ठूलो जनधनको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
घाइतेहरूले भनेका छन्– “२३ गते हाम्रो आन्दोलन स्वतःस्फूर्त र शान्तिपूर्ण थियो। तर २४ गते बाहिरबाट घुसपैठियाहरू प्रवेश गरी तोडफोड मच्चाए र राज्यले त्यही बहानामा निर्दोष युवाहरूमाथि गोली चलायो।”
यस प्रतिवेदनले आन्दोलनका क्रममा भएको हिंसा र राज्यको भूमिका सम्बन्धी गम्भीर प्रश्नहरू उठाएको छ।
