काठमाडौँ । चन्द्रागिरि नगरपालिकास्थित तिनथानाबाट चोरी भएको सुनका गरगहना र मोबाइलको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चोरीका गहना पगाल्दै बिगारिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिइएको हो, जसमा एक भारतीय नागरिक समेत रहेका छन्।
प्रहरीका अनुसार, गत फागुन २८ गते चन्द्रागिरि–१५ तिनथानास्थित एक घरबाट १.५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का, तिलहरी, दुई थान मोबाइल र नगद ५ हजार रुपैयाँ चोरी भएको उजुरी परेको थियो। उजुरीको आधारमा सुरु गरिएको सूक्ष्म अनुसन्धान र खोजतलासको क्रममा प्रहरीले चैत १० गते काठमाडौँ महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राइभिङ सेन्टर अगाडि उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेहरूमा धादिङका २२ वर्षीय प्रसन्न अधिकारी, नवलपरासी पूर्वका २८ वर्षीय प्रदीप गुरुङ, ओखलढुङ्गाका २९ वर्षीय लाक्पा शेर्पा, रसुवाका २८ वर्षीय सागर कामी र भारत महाराष्ट्रका २८ वर्षीय गौरव गुणाजी मोरे रहेका छन्। उनीहरूको साथबाट चोरीका दुई थान मोबाइल, पगालेर ढिक्का बनाइएको २३.३० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटमार्फत विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले भारतीय नागरिक मोरेले चोरीका गहना पगाल्ने र स्वरूप बदल्ने काममा सहयोग गरेको देखाएको छ।
