काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा आकर्षक तलबको वाचा गर्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ बस्ने गुल्मीका ४५ वर्षीय रवीन्द्रजंग रायमाझी रहेका छन्।
प्रहरीका अनुसार रवीन्द्रले क्रोएसिया पठाइदिन्छु भनी तीनजना पीडितबाट कुल ११ लाख ५० हजार रुपैयाँ लिएको थिए र त्यसपछि सम्पर्कविहीन भएका थिए। पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी दिएपछि प्रहरीले तत्काल अनुसन्धान शुरु गरेको थियो।
उक्त अनुसन्धानका क्रममा बुधबार रवीन्द्रलाई भक्तपुर, मध्यपुर थिमी नगरपालिका–४ बाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ।
