विराटनगर । मोरङको कानेपोखरीमा बिहीबार बिहान टिपरले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृतक वीरेन्द्र कार्की साइकलमा यात्रा गरिरहेका थिए।
प्रहरीका अनुसार जहदा बाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान ७:४० बजे ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका कार्कीलाई उपचारका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। तर, बिहान ८:४० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
प्रहरीले टिपर, साइकल र टिपर चालक कानेपोखरी–५ का २९ वर्षीय अभिषेक दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार टिपरको तीव्र गतिले दुर्घटना भएको पुष्टि भएको छ।
