ढाका । बंगलादेशमा यात्रुवाहक बस पद्मा नदीमा खसेर भएको भीषण दुर्घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका मध्ये ११ जना यात्रुले भने पौडिएर ज्यान जोगाउन सफल भएका छन् ।
प्रहरीका अनुसार बसमा करिब ४० जना यात्रु सवार थिए । प्रारम्भिक रिपोर्टमा दुई जनाको मात्रै मृत्यु भएको जानकारी आएको भए पनि उद्धार टोलीले करिब ६ घण्टाको प्रयासपछि बस नदीबाट बाहिर निकाल्दा थप २१ जनाको शव फेला परेको हो ।
यो दुर्घटना राजबाडी जिल्लास्थित दाउलादिया टर्मिनलमा भएको हो । बसलाई फेरीमार्फत नदी पार गराउने क्रममा चालकले नियन्त्रण गुमाउँदा सवारी साधन सिधै नदीमा खसेको बताइएको छ ।
दुर्घटनामा परेका अधिकांश यात्रु इदको बिदा सकेर राजधानी ढाका फर्किंदै गरेका थिए । बंगलादेशमा अझै पनि नदी पार गर्न बस तथा अन्य सवारीलाई फेरीमार्फत ओसार्ने प्रचलन व्यापक रहेको छ, जसका कारण यस्ता दुर्घटनाको जोखिम उच्च रहने गर्छ ।
उद्धार कार्यमा स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा गोताखोर टोली खटिएको थियो । नदीको बहाव र साँझको समयका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् ।
यस घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री तारिक रहमानले दुर्घटनाको कारणबारे छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । साथै मृतकका परिवारलाई राहत तथा घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।
यो दुर्घटनाले बंगलादेशमा नदी पार गर्ने प्रणालीको सुरक्षामाथि पुनः प्रश्न उठाएको छ । विशेषगरी व्यस्त चाडपर्वका समयमा यात्रु चाप बढ्दा यस्ता जोखिम अझ बढ्ने देखिएको छ ।
