बुटवल । पश्चिम एसियामा जारी युद्धको असर नेपालका औद्योगिक क्षेत्रमा समेत देखिन थालेको छ । विशेषगरी बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरू कच्चा पदार्थ अभावका कारण सञ्चालनमै समस्या भोगिरहेका छन् ।
उद्योगीहरूका अनुसार विदेशबाट आयात हुने कच्चा पदार्थ प्रभावित हुँदा उत्पादन लागत बढ्नुका साथै आपूर्ति नै अनिश्चित बन्दै गएको छ ।
बुटवल औद्योगिक क्षेत्रमा रहेको लिटमस्ट केवल उद्योगले दुबईबाट तामाको कभर र भारतबाट प्लास्टिकजन्य कच्चा पदार्थ आयात गरी केबल उत्पादन गर्दै आएको छ । तर युद्धका कारण दुबईबाट आयात लगभग रोकिएको छ भने भारतबाट आउने प्लास्टिकजन्य सामग्रीको मूल्य तीव्र रूपमा बढेको छ । उद्योगका व्यवस्थापक भुवन गिरीका अनुसार प्लास्टिकजन्य कच्चा पदार्थको लागत मात्रै ४० प्रतिशतभन्दा बढीले बढेको छ ।
वार्षिक करिब १० हजार टन कच्चा पदार्थ आवश्यक पर्ने उक्त उद्योग अहिले जसोतसो सञ्चालन भइरहेको भए पनि भविष्य अनिश्चित देखिएको गिरीले बताए ।
यस्तै, एजाज आलम सञ्चालित आलम प्लास्टिक उद्योग र युनाइटेड इन्डस्ट्रीमा पनि कच्चा पदार्थको मूल्य अत्यधिक बढेको छ । उनका अनुसार एक टन प्लास्टिक आयात गर्दा अहिले ७०० डलरभन्दा बढी खर्च लाग्न थालेको छ । उद्योगमा मौज्दात कच्चा पदार्थ सकिएपछि उत्पादन बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए ।
रुपन्देहीको तिलोत्तमा–१७ स्थित कोहिनुर प्लास्टिक इन्डस्ट्रिजमा पनि अवस्था उस्तै छ । सञ्चालक सुमन बस्यालका अनुसार हेल्मेट उत्पादनका लागि आवश्यक प्लास्टिक दाना आयात महँगो हुँदै गएको छ, जसले उत्पादन लागत बढाएको छ ।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका व्यवस्थापक दीपक आचार्यका अनुसार पश्चिम एसिया युद्धका कारण अधिकांश उद्योगको कच्चा पदार्थ आयात प्रभावित भएको छ । विशेषगरी ‘केमिकल’जन्य वस्तु भारतबाहेक अन्य देशबाट ल्याउन कठिन भएको उनले बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार बुटवल मात्र होइन, भैरहवा–परासी औद्योगिक कोरिडोरका उद्योगहरूमा पनि कच्चा पदार्थ अभाव देखिन थालेको छ । कच्चा पदार्थ महँगो हुँदा उत्पादन लागत बढ्ने र मूल्यवृद्धि हुने निश्चित रहेको उनले बताए ।
बेलहिया नाकाबाट उद्योगीहरूले कच्चा पदार्थ आयात गर्दै आएका छन् । उद्धव ढुंगानाका अनुसार युद्धअघि पठाइएका सामग्री अझै आइरहे पनि अब आयात क्रम घट्दै जाने संकेत देखिएको छ ।
उद्योगीहरूको दाबीअनुसार कच्चा पदार्थको मूल्य ३० प्रतिशतभन्दा बढीले बढिसकेको छ । लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्षसमेत रहेका आलमका अनुसार विगतमा ९०० डलरमा पाइने कच्चा पदार्थ अहिले १,६०० डलरभन्दा माथि पुगेको छ ।
उपेन्द्र अग्रवालका अनुसार पहिलो चरणमा प्लास्टिकजन्य उद्योगहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यदि यो अवस्था लामो समयसम्म कायम रहे नेपालका धेरै उद्योग बन्द हुने जोखिम बढ्ने उनले चेतावनी दिए ।
इन्धन मूल्य वृद्धि, ढुवानी महँगो हुनु र कच्चा पदार्थ अभावका कारण उद्योगीहरू उत्पादनको मूल्य बढाउन बाध्य हुने देखिएको छ । नेपाली उद्योगीहरूले प्रायः भारतका रिलायन्स इन्डस्ट्रिज र इन्डियन आयल कर्पोरेसन (IOC)बाट प्लास्टिकका कच्चा पदार्थ खरिद गर्दै आएका छन् ।
होमराज भुसालका अनुसार कच्चा पदार्थ आयातमा देखिएको अवरोधले समग्र बजारमा मूल्यवृद्धि हुने स्पष्ट संकेत देखिएको छ ।
