डडेलधुरा । डडेलधुरास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १७ महिनादेखि चिकित्सकविहीन रहँदा स्थानीय पशुपालक किसान गम्भीर समस्यामा परेका छन् । पशु उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा किसानहरूले आर्थिक तथा व्यावहारिक दुवै किसिमका कठिनाइ भोग्नुपरेको छ ।
केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार करारमा कार्यरत पशु चिकित्सकले पद त्याग गरेपछि केन्द्रमा चिकित्सकको अभाव सिर्जना भएको हो । त्यसयता नयाँ चिकित्सक नियुक्त हुन नसक्दा सेवा प्रवाह प्रभावित बनेको उनले बताए ।
केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी भए पनि सुदूरपश्चिम प्रदेश सरकारले उक्त पद पूर्ति गर्न नसक्दा समस्या झन् जटिल बनेको छ । नियमित उपचार, खोप, रोग पहिचान र परामर्शजस्ता आधारभूत सेवाहरू समेत प्रभावकारी रूपमा दिन नसकिएको पन्तले जानकारी दिए ।
विशेषगरी गम्भीर प्रकृतिका बिरामी पशुको उपचारका लागि धनगढीबाट चिकित्सक बोलाउनुपर्ने बाध्यता रहेको छ । यसका कारण उपचारमा ढिलाइ हुनुका साथै किसानले थप खर्च व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । कतिपय अवस्थामा समयमै उपचार नपाउँदा पशु मर्ने जोखिम समेत बढेको किसानहरूको गुनासो छ ।
स्थानीय किसानहरूका अनुसार पशु स्वास्थ्य सेवा कमजोर हुँदा दुग्ध उत्पादन, मासु उत्पादन तथा समग्र पशुपालन व्यवसायमा प्रत्यक्ष असर परेको छ । ग्रामीण क्षेत्रका धेरै किसानको मुख्य आम्दानीको स्रोत पशुपालन भएकाले यस्तो अवस्था दीर्घकालीन रूपमा आर्थिक क्षतिमा परिणत हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
किसानहरूले तत्काल चिकित्सकको व्यवस्था गर्न र सेवा सहज बनाउन प्रदेश सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार सम्बन्धित निकायले समयमै ध्यान नदिए पशुपालन क्षेत्र नै संकटमा पर्न सक्ने देखिएको छ ।
