काठमाडौँ । गोकुल बास्कोटाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाउँदै भदौ २४ गतेका विध्वंसात्मक घटनालाई ओझेलमा पार्ने प्रयास भएको आरोप लगाएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भएसँगै बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।
उनका अनुसार उक्त प्रतिवेदनले घटनाको समग्र पृष्ठभूमि, कारण र परिणामलाई सन्तुलित रूपमा समेट्न नसकेको संकेत देखिन्छ । विशेषगरी भदौ २४ मा भएका हिंसात्मक तथा विध्वंसात्मक गतिविधिलाई पर्याप्त रूपमा उजागर नगरी विस्मृतिमा धकेल्ने प्रयास गरिएको उनको आरोप छ ।
बास्कोटाले इतिहासले कुनै पनि घटनाका जिम्मेवार पात्र र प्रवृत्तिलाई अन्ततः कठघरामा उभ्याउने उल्लेख गर्दै त्यसबाट कोही पनि उम्किन नसक्ने बताए । तर, उनले न्याय र मूल्याङ्कन एकपक्षीय हुन नहुनेमा जोड दिए ।
“इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिले कठघरामा उभिएर जवाफ त देलान् नै । तर त्यो एकतर्फी हुन सक्दैन,” उनले लेखेका छन्, “घटनाहरूमा स्वतन्त्र कारण रहे पनि देखापरिसक्दा ती एक्ला हुँदैनन् । कारण, परिणाम र प्रभावसँगै अर्को पक्ष पनि सँगै जोडिएको हुन्छ ।”
उनले आयोगको प्रतिवेदनले घटनाका सबै आयामलाई समेट्न नसकेको संकेत गर्दै भदौ २४ का घटनालाई ओझेलमा पार्ने प्रयास सफल नहुने दाबी गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा भएका घटनाले देशव्यापी ध्यान खिचेको थियो । उक्त आन्दोलनका क्रममा भएका तोडफोड, झडप तथा अन्य गतिविधिको यथार्थ छानबिन गर्न सरकारले आयोग गठन गरेको थियो ।
अब आयोगको प्रतिवेदन सार्वजनिक भइसकेपछि त्यसको निष्पक्षता, पूर्णता र प्रभावकारितामाथि राजनीतिक तथा सार्वजनिक बहस सुरु हुने देखिएको छ ।
