त्रिशूली । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारका क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ३५ वर्षीय फूलमान तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
सडक विस्तारमा कार्यरत ललितपुर घर भएका २४ वर्षीय स्काभेटर चालक अमृत तामाङ पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
उनको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी परिचालित भएका छन् ।
प्रहरीका अनुसार तामाङ केही दिनअघि मात्र स्काभेटर चलाउन नुवाकोट आएका थिए ।
