सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनामा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुधिरराज शाहीका अनुसार अनुसन्धान सकिएपछि बुधबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो।
प्रहरीको प्रतिवेदनमा घटनास्थलबाटै पक्राउ परेका एक किशोरलाई मुख्य अभियुक्त ठहर गर्दै जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी कसुरमा जन्मकैदको मागदाबी गरिएको स्रोतले जनाएको छ। साथै अन्य तीन किशोरविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग गरिएको छ।
डिएनए, मोबाइल ट्याप सम्बन्धी फरेन्सिक तथा टक्सिकोलोजी रिपोर्ट अझै प्राप्त नभइसके पनि प्रारम्भिक अनुसन्धानका आधारमा प्रतिवेदन बुझाइएको हो। प्रहरीका अनुसार केही परीक्षण नेपालमा सम्भव नभएकाले नमूना विदेश पठाइएको र रिपोर्ट आउन बाँकी छ। ती रिपोर्ट आएपछि मृत्युको कारण अझ स्पष्ट हुने बताइएको छ।
फागुन २३ गते बिहान ट्युसन पढ्न निस्केकी इनिशा वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वन क्षेत्रभित्र मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको थियो।
घटनाको अनुसन्धान नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले छुट्टाछुट्टै रूपमा गरेका थिए।
यद्यपि, पीडित परिवार भने अनुसन्धानबाट सन्तुष्ट नभएको जनाइएको छ। उनीहरूले शव बुझ्न अस्वीकार गर्दा १९ दिनदेखि शव कर्णाली प्रादेशिक अस्पतालमै राखिएको छ।
प्रहरीका अनुसार मुख्य अभियुक्त बाहेकका तीन किशोर घटनापछि अचेत अवस्थामा रहेकी इनिशालाई अस्पताल पुर्याउन भूमिका नखेलेकाले उनीहरूलाई पनि ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको हो।
चारै जना अभियुक्त १८ वर्षभन्दा कम उमेरका भएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
घटनापछि देशभर विरोध प्रदर्शन भएको थियो भने निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग उठेको थियो।
जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहादुर महतले प्रतिवेदन अध्ययन भइरहेको र आवश्यक परे पुनः अनुसन्धानका लागि फिर्ता पठाउन सकिने बताएका छन्।
