टोकीयो । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब देखिँदै जाँदा जापानले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) लाई आवश्यक परे थप तेल भण्डार बजारमा ल्याउन तयार रहन आग्रह गरेको छ। यस कदमलाई सम्भावित आपूर्ति सङ्कटलाई समयमै नियन्त्रण गर्ने प्रयासका रूपमा लिइएको छ।
टोकीयोमा बोल्दै आईईएका प्रमुख फातेह बिरोलले आवश्यक परे थप भण्डार सार्वजनिक गर्न एजेन्सी तयार रहेको सङ्केत गरेका छन्। उनले हालसम्म उपलब्ध भण्डारको करिब ८० प्रतिशत अझै सुरक्षित रहेको उल्लेख गर्दै आवश्यक परे थप कदम चाल्न सकिने बताए। बिरोलले भने, “हाम्रो कुल भण्डारको करिब ८० प्रतिशत अझै सुरक्षित छ, अहिलेसम्म जारी गरिएको ४० करोड ब्यारेल त केवल २० प्रतिशत मात्र हो। आवश्यकताअनुसार हामी अघि बढ्न तयार छौँ, तर यस्तो अवस्था नआओस् भन्ने अपेक्षा पनि छ।”
यसअघि जापानी प्रधानमन्त्री साने ताकाइचीले पश्चिम एसियाको अस्थिर अवस्थालाई ध्यानमा राख्दै आइइएलाई थप ‘समन्वित रिलिज’ कार्यान्वयन गर्न तयार रहन आग्रह गरेकी थिइन्। आईईएले यसै महिनाको सुरुआतमा आफ्ना सदस्य राष्ट्रहरूसँग मिलेर करिब ४० करोड ब्यारेल तेल भण्डार बजारमा ल्याउने निर्णय गरेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो समन्वित रिलिज मानिएको छ।
बिरोलले विश्वले गम्भीर ऊर्जा सुरक्षा चुनौती सामना गरिरहेको उल्लेख गर्दै आईईए आफ्नो भूमिकामा सक्रिय रहने बताए। उनका अनुसार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा स्थिरता कायम राख्न एजेन्सीले आवश्यक समन्वय गर्न तयार छ।
जापानका लागि ऊर्जा सुरक्षाको विषय अत्यन्त संवेदनशील छ, किनकि यो मुलुक आफ्नो करिब ९५ प्रतिशत तेल आयातका लागि पश्चिम एसियामा निर्भर छ। सरकारले गत साता निजी क्षेत्रको १५ दिन बराबरको पेट्रोलियम भण्डार बजारमा ल्याउन सुरु गरेको छ भने बिहीबारदेखि सरकारी भण्डारसमेत प्रयोगमा ल्याउने तयारी गरिएको छ। साथै, महिनाको अन्त्यसम्ममा जापानमा उत्पादक राष्ट्रहरूले राखेका संयुक्त भण्डारबाट पनि तेल निकाल्ने योजना रहेको छ।
जापान पेट्रोलियम एसोसिएसनका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स र कुवेतले जापानमा संयुक्त भण्डार राखेका छन्। सामान्य अवस्थामा यी भण्डारहरू व्यावसायिक रूपमा प्रयोग गरिने भए पनि आपतकालीन परिस्थितिमा जापानी कम्पनीहरूले प्राथमिकताका आधारमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
