काठमाडौँ । युनाइटेड स्टेट्स अफ अमेरिका (यूएसए)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त जितको अवसरमा बधाई दिएको छ।
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी विशेष दूत सर्जिओ गोरले चैत १० गते लामिछानेलाई टेलिफोनमार्फत बधाई दिएका हुन्। नेपालस्थित अमेरिकी दूतावासका अनुसार, गोरले रास्वपा नेतृत्वमा आएको नयाँ सरकारसँग अमेरिका सहकार्य गर्न उत्साहित रहेको बताएका छन्।
दूतावासले फेसबुकमार्फत जारी गरेको सन्देशमा भनिएको छ, “अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीलाई सुदृढ पार्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ।”
यो कदमले नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने संकेत दिएको छ।
