काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक आज केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा मंगलबारदेखि सुरु भएको छलफलका एजेन्डामाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।
बैठकमा सभापति गगनकुमार थापाले आगामी भदौ २४–२६ गतेसम्म पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए। यसबाहेक समसामयिक विषय, सुशासन स्थापना, संविधान संशोधनका अध्ययन र सुझावका लागि विज्ञसहितको समिति गठन, केन्द्रीय निर्वाचन समिति गठन लगायतका विषयमा छलफल भइरहेको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बैठकमा प्रतिनिधिसभा सदस्यहरूको अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश तथा स्थानीय सरकारको समीक्षा, समन्वय र प्रभावकारिता बढाउने उपाय, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिसँगको समन्वय, केन्द्रीय लेखा समिति गठन लगायत विविध विषयमा पनि छलफल भएको छ।
