काठमाडौँ । काठमाण्डौको कीर्तिपुर नगरपालिकास्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका कागमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ। कीर्तिपुर नगरपालिका र पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरेको छ।
नगरपालिकाको पशुसेवा प्रमुख सुशीला गैरेका अनुसार, मरेका सबै काग हिजो सङ्कलन गर्न नसकिएकाले आज पनि बाँकी काग सङ्कलन गरी पुरिने काम भइरहेको छ। उनी भन्छिन्, “एक हप्ताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा काग मरेको जानकारी दिएका थिए।”
परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो। वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले पुष्टि गरेका छन् कि ती कागमा एचफाइ एन वान (H5N1) र एच नाइन (H9) गरी दुवै प्रकारका बर्डफ्लु भाइरस रहेका छन्।
उपाध्यायका अनुसार, डुलुवा पंक्षीमा पर्ने कागमा फिरन्ते चराबाट बर्डफ्लु सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। पशु स्वास्थ्य विभागले बर्डफ्लु फैलन नदिन सावधानी अपनाउन, मृत पक्षी सम्पर्क नगर्न र सङ्क्रमित क्षेत्र आसपासमा पशुजन्य स्वास्थ्य निगरानी कडा पार्न स्थानीय प्रशासनसँग समन्वयमा काम गरिरहेको जनाएको छ।
