काठमाडौँ । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका ५१ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। उनीहरूलाई नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा सुरक्षित रूपमा नेपाल ल्याइएको हो।
दूतावासका अनुसार, उद्धार गरिएका नेपालीहरूलाई अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो। केही नेपाली बिना भिसा वा भिसा अवधि नाघिसकेपछि फेला परेका थिए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत १० गते कम्बोडियाबाट उडेका थिए र चैत ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गरेका छन्।
दूतावासले अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउने पहल जारी राखेको छ। साथै, समस्यामा परेका नेपालीहरू तत्काल दूतावाससँग सम्पर्क गर्न आग्रह गरिएको छ। यसका लागि दूतावासले एनआरएनएका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिंह खड्का र रामजी कुमार क्षेत्रीको सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
स्क्यामिङ्ग केन्द्रमा काम गराइएका नेपालीहरू प्रायः राहदानी कम्पनीले जफत गरेको वा हराएको गुनासो गर्छन्। यस्तो अवस्थामा नेपाली राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेर उद्धार गर्दै आएको छ।
पछिल्लो वर्षहरूमा कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना, २०२२ मा १,९७७ जना, २०२३ मा २,९४० जना, २०२४ मा ६,४०४ जना र २०२५ मा ९,६७६ जना नेपाली कम्बोडिया पुगेका थिए।
नेपाली राजदूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीका लागि जान र छिटो तथा धेरै कमाइको प्रलोभनमा भ्रमण भिसामा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्ड लगायतका देशहरू नजान पुनः आग्रह गरेको छ।
