खोटाङ, ११ चैत । रोजगारीको खोजीमा भारतको हैदरावाद पुगेका खोटाङका एक युवाको गाडीको ठक्करबाट मृत्यु भएको छ। खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो। उनी साथीहरूसँग होटलमा कामका लागि हिँडेका थिए।
स्थानीय अगुवा अमरसिं बस्नेतका अनुसार, पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै तिलकको मृत्यु भएको हो। तिलक गाउँकै सन्तोष परियार र कृष्ण परियारसँगै चैत २ गते हैदरावादका लागि प्रस्थान गरेका थिए। चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको उपचार गान्धी अस्पताल, सेकन्दरावादमा भइरहेको थियो, तर चैत ११ गते बिहान मृत्यु भएको जानकारी आफन्तले दिएका छन्।
विपन्न आर्थिक अवस्थाका तिलक र सन्तोषले निर्वाचन प्रहरीको रूपमा काम गरी फर्किएपछि हैदरावाद रोजगारीका लागि प्रस्थान गरेका थिए। तिलक घरका दुई छोरामध्ये कान्छो छोरा हुन् र उनी पाँच जना दिदीबहिनीका बीच जन्मेका थिए। उनका पाँच वर्षका छोरा छन् र श्रीमतीसँग अलग्गै बसिरहेका थिए।
हैदरावादतर्फ हिँडेको दिन तिलकको घरमा हावाहुरीले क्षति पुर्याएको थियो। उनीहरू रोजगारी दिलाउने ठेकेदारको नेतृत्वमा हैदरावाद पुगेका थिए। खोटेहाङ गाउँपालिकाबाट दर्जनौं युवा रोजगारका लागि हैदरावाद जाने गरेका छन्।
अफन्तका अनुसार, अस्पतालमा रहेको तिलकको शव बुझेर दाहसंस्कार गर्न कठिन भइरहेको छ। पोष्टमार्टम र प्रहरीमार्फत कागजात तयार पार्न करिब ६० हजार भारु खर्च लाग्ने भएकाले सहयोगका लागि पैसा पठाइदिन अनुरोध आइरहेको छ।
