काठमाडौँ । बालाजु क्षेत्रमा लागुऔषध कारोवारमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाका १९ वर्षीय आदित्य मण्डल, सिन्धुलीका ४१ वर्षीय उत्तर बहादुर कार्की (शम्भु कार्की) र भारत सितामणीका २७ वर्षीय जितु कुमार राय रहेका छन्। काठमाडौं प्रहरी वृत्त लैनचौरको टोलीले मंगलबार उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, उनीहरू बसेको कोठामा खानतलासी गर्दा १८ ग्राम खैरो हिरोइन, ५६ हजार नेपाली रुपैयाँ, २ हजार ८०० भारतीय रुपैयाँ, जेनजी आन्दोलनका क्रममा लुटिएको प्रहरीको हेलमेट १ थान र मोबाइल फोन ३ थान बरामद भएको छ।
शम्भु कार्कीमाथि पहिले पनि केही गम्भीर मुद्दा चलेको रहेको छ। बर्दिवास, महोत्तरीमा हतियार देखाई डाका गरेको आरोपमा उनको विपक्षमा मुद्दा दर्ता भएको थियो। साथै, जिल्ला प्रहरी परिसरबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा समेत मुद्दा दर्ता गरिएको थियो।
प्रहरीले पक्राउ परेकामाथि कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ। यस घटनाले काठमाडौं क्षेत्रमा लागुऔषध कारोवार नियन्त्रणमा राख्ने प्रयासलाई थप सक्रिय बनाएको छ।
