काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ। उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी दिएकी छन्।
साम्बाका अनुसार अकल्यान्डमा डाक्टर साइमन र उनको चिकित्सक टोलीले शल्यक्रिया गरेका थिए। खाडी क्षेत्रमा उत्पन्न तनावका कारण कतारस्थित अस्पेटार अस्पतालमा पुग्न समस्या भएपछि विशेषज्ञको सल्लाहअनुसार न्युजिल्यान्डमै उपचार गरिएको उनले बताएकी छन्। अब चिकित्सकको निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु हुने र अवस्था सुधार भएसँगै अस्पेटार अस्पतालमा थप उपचार जारी रहनेछ।
उपचारका क्रममा सहयोग पुर्याउने वेलिङ्टन र अकल्यान्डस्थित नेपाली समुदाय, आफू आबद्ध क्लब वेलिङ्टन फिनिक्स तथा व्यवस्थापन टोलीप्रति उनले सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेकी छन्।
साम्बाको दाहिने घुँडाको अग्रपश्चिम क्रस लिगामेन्ट (ACL) र मध्यम-पक्षीय क्रस लिगामेन्ट (MCL) दुवैमा चोट लागेको हुँदा जटिल शल्यक्रिया आवश्यक परेको थियो। शल्यक्रियाको अनुमानित खर्च ८० हजार अमेरिकी डलर (एक करोड १५ लाख रुपैयाँभन्दा बढी) रहेको थियो। उपचारका लागि उनले फागुन १४ गते आर्थिक सहयोगको सार्वजनिक अपिल गरेकी थिइन्। तर शुभचिन्तक र विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएपछि २४ घण्टामै धन्यवाद दिँदै सहयोग संकलन बन्द गरेकी थिइन्।
सिजन २०२५–२६ का लागि न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्ससँग आबद्ध भएकी साम्बा गत पुस ५ गते अष्ट्रेलियाको महिला फुटबल लिगअन्तर्गत ब्रिस्बेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन्। खेलको दोस्रो हाफमा हावामा आएको बल टाउकोले हान्ने क्रममा विपक्षी गोलरक्षकसँग ठोक्किँदा उनको दाहिने घुँडामा गम्भीर चोट लागेको थियो।
लामो समय मैदान बाहिर रहनुपरेको अवस्थालाई उनले आफ्नो करियरकै कठिन चरणको रूपमा वर्णन गरेकी छन्। तर समर्थकहरूको साथ र आत्मविश्वासका बलमा छिट्टै मैदानमा फर्किने विश्वास व्यक्त गर्दै उनले पुनरागमनको तयारी सुरु गरेकी छन्।
