काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीले पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल भत्किँदा ठूलो भौतिक क्षति भएको छ। पाँचथरको याङ्बरक गाउँपालिका–२ स्थित मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा निर्माण भइरहेका पुलहरू गएरातिको बाढीले बगाएको हो।
प्राविधिकहरूका अनुसार एक्कासी आएको बाढीले खोलाको सतह गहिरो बनाउँदा पुलका टेका (फाउन्डेसन सपोर्ट) र फर्मा कमजोर भई ढलेपछि संरचना भाँचिएको हो। दुवै पुल अन्तिम चरणमा रहेका बेला क्षति भएको जनाइएको छ।
पाँचथरको मेवाखोलामा निर्माणाधीन ४० मिटर लामो पुल करिब ९० प्रतिशत सम्पन्न भइसकेको अवस्थामा भत्किएको हो। सञ्जय मिश्र का अनुसार दुई वर्षअघि बाढीले पुरानो पुल बगाएपछि नयाँ पुल निर्माण थालिएको थियो। ७ करोड ७६ लाख रुपैयाँ लागतमा सरोज निर्माण सेवा ले उक्त पुल निर्माणको जिम्मा लिएको थियो।
‘चैत २ गते मात्र ढलान गरिएको थियो, तर प्राकृतिक विपत्तिले पुल भाँचिदियो,’ मिश्रले बताए। पुल नहुँदा मेवाखोला आसपासका उत्तरी क्षेत्र—च्याङ्थापु र फलैचाबासी—का स्थानीयवासीले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्।
यसैगरी ताप्लेजुङको नेरुवा खोलामा निर्माणाधीन ३५ मिटर लामो पुल पनि बाढीले भत्काएको छ। कुमार कर्ण का अनुसार यहाँ पनि पुल निर्माण अन्तिम चरणमा पुगेको थियो। बाढीले सपोर्ट संरचनामा क्षति पुर्याएपछि पुल ढलेको हो।
‘ढलान गरेको २८ दिनपछि रड तन्काउने प्रक्रिया बाँकी थियो, त्यो गर्न नपाउँदै बाढीले पुल भाँचियो,’ कर्णले भने, ‘नत्र केही हप्तामै सवारी सञ्चालन सम्भव हुने अवस्था थियो।’ ७ करोड ४७ लाख रुपैयाँ लागतमा सञ्जिव निर्माण सेवा ले उक्त पुल निर्माण गरिरहेको थियो।
दुवै पुल भत्किएपछि स्थानीय यातायात सेवा पुनः प्रभावित भएको छ भने करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। सम्बन्धित निकायहरूले क्षतिको विस्तृत मूल्याङ्कन तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।
