काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई आज पद तथा गोपनीयताको शपथ गराउने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य भएकाले संवैधानिक व्यवस्था अनुसार उनलाई राष्ट्रपतिबाट शपथ गराउन लागिएको हो। केसी नेपाली कांग्रेस का वरिष्ठ नेता हुन् र यसपटक समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका अनुसार यसपटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना गरी कुल २७५ जना सदस्य निर्वाचित भएका छन्। यीमध्ये ज्येष्ठ सदस्यको भूमिकामा रहेका केसीले अब संसद् सञ्चालनको प्रारम्भिक प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पाउनेछन्।
संवैधानिक प्रावधानअनुसार ज्येष्ठ सदस्यले प्रतिनिधिसभाका अन्य निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था रहेको छ। सोही अनुसार केसीले यही चैत १२ गते बिहीबार अन्य सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ। उक्त शपथसँगै प्रतिनिधिसभाको औपचारिक कार्य सञ्चालन सुरु हुनेछ।
यस प्रक्रियापछि सभामुख र उपसभामुख चयन, दलहरूको संसदीय संरचना निर्माण तथा संसदीय समितिहरू गठन गर्ने जस्ता महत्वपूर्ण कार्यहरू अगाडि बढ्नेछन्। नयाँ प्रतिनिधिसभा गठनसँगै देशको राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।
