विश्वको ऊर्जा आपूर्तिको मुख्य नाडी मानिने स्ट्रेट अफ होर्मुजबारे इरानले आफ्नो आधिकारिक धारणा अन्तर्राष्ट्रिय मञ्चमा सार्वजनिक गरेको छ। इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) लाई पत्र लेख्दै अबदेखि यो रणनीतिक जलमार्ग ‘गैर-शत्रु’ जहाजहरूले मात्र प्रयोग गर्न पाउने सर्त अघि सारेको हो।
इरानको विदेश मन्त्रालयमार्फत पठाइएको उक्त पत्रमा स्पष्ट उल्लेख गरिएको छ कि इरानको सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्ने तथा इरानविरुद्ध कुनै पनि सैन्य गतिविधिमा संलग्न नहुने जहाजहरूलाई मात्र स्ट्रेट अफ होर्मुज प्रयोग गर्न अनुमति दिइनेछ। यसका साथै, अमेरिका र इजरायलसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध भएका जहाज, उपकरण वा सम्पत्तिलाई भने यो जलमार्गमा शान्तिपूर्ण प्रवेशको अनुमति नदिने चेतावनी इरानले दिएको छ।
विशेषज्ञहरूका अनुसार यो कदमले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्न सक्नेछ। किनभने स्ट्रेट अफ होर्मुज हुँदै विश्वको झण्डै २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास ढुवानी हुने गर्छ। पछिल्लो समय अमेरिका-इजरायल र इरानबीच बढ्दो सैन्य तनावका कारण यो मार्गबाट हुने ढुवानीमा अवरोध सिर्जना भएको छ, जसले अन्तर्राष्ट्रिय बजारमा इन्धनको आपूर्ति घट्नुका साथै मूल्यमा तीव्र वृद्धि देखिएको छ।
इरानले भने यो निर्णय आफ्नो राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै लिइएको दाबी गरेको छ। उसका अनुसार शत्रु राष्ट्रहरूले यही जलमार्ग प्रयोग गरेर सैन्य गतिविधि विस्तार गर्ने सम्भावनालाई रोक्न यस्तो कडा नीति अपनाइएको हो। लन्डनस्थित अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका १७६ सदस्य राष्ट्रहरूलाई मंगलबार सर्कुलर गरिएको उक्त पत्रमा इरानले आवश्यक परे थप कडा कदम चाल्न समेत आफू तयार रहेको संकेत दिएको छ।
यस निर्णयसँगै अब स्ट्रेट अफ होर्मुजबाट हुने अन्तर्राष्ट्रिय व्यापारिक ढुवानी इरानी अधिकारीहरूको प्रत्यक्ष समन्वय र स्वीकृतिमा मात्र सम्भव हुने देखिएको छ। यसले विश्व आपूर्ति श्रृंखला, ऊर्जा सुरक्षा र कूटनीतिक सम्बन्धमा दीर्घकालीन असर पार्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायमा चासो र चिन्ता बढेको छ।
