काठमाडौँ – इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उदयपुरका ३३ वर्षीय अमृत झाको सकुशल रिहाइका लागि उनका परिवारले नेपाल सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। त्रियुगा नगरपालिका–११ निवासी झा इरानस्थित ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत रहँदै पानीजहाज चालकको रूपमा काम गर्दै आएका थिए।
परिवारका अनुसार, उनी दुबईबाट इरानतर्फ इन्धन लिन गएको र फर्किने क्रममा बन्दर अब्बास क्षेत्रबाट इरानी सेनाले नियन्त्रणमा लिएको हो। अमृतकी दिदी पूजा झाले उनलाई हाल स्ट्रेट अफ होरमुज नजिक इरानको सुरक्षा निकायले पक्राउ गरेको जानकारी आएको बताइन्। परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा दर्ता गरिएको निवेदनमा उनलाई बन्दर अब्बास कारागारमा राखिएको दाबी गरिएको छ।
यस विषयमा अमृतका आफन्तले सोमबार परराष्ट्रमन्त्री बलानन्द शर्मा र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग भेट गरी झाको अवस्था, सुरक्षा र रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। भेटका क्रममा अमृतका भिनाजु राजेशकुमार झाले इजरायल–अमेरिका आक्रमणपछि उत्पन्न क्षेत्रीय तनावका कारण स्थिति जटिल बनेको र सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हुनसक्ने बताएका थिए।
परिवारका अनुसार पक्राउपछि अमृतको स्वास्थ्य अवस्था र सुरक्षाबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन, जसले थप चिन्ता बढाएको छ। जवाफमा परराष्ट्रमन्त्री शर्माले आफ्नो कार्यकाल छोटो समयमात्र बाँकी रहेको उल्लेख गर्दै आगामी सरकारले यस विषयलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने बताए। साथै, मन्त्रालयले आफ्ना कूटनीतिक नियोगमार्फत झाको अवस्थाबारे जानकारी लिन प्रयास जारी राखेको पनि उनले बताए।
सचिव राईले समेत उपलब्ध सबै कूटनीतिक माध्यम प्रयोग गरी अमृत झाको रिहाइका लागि पहल भइरहेको जानकारी दिएका छन्। यसैबीच, परिवारले अमृतको सुरक्षा, स्वास्थ्य अवस्था सुनिश्चित गर्दै यथाशीघ्र रिहाइ गराउन सरकारसँग प्रभावकारी कूटनीतिक पहल गर्न पुनः आग्रह गरेको छ।
