काठमाडौँ – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा धेरै ३५५ रन बनाएको छ। यसअघि २०१८ मा कीर्तिपुरमा मधेश प्रदेशसँगको खेलमा एपीएफले ३३९ रन बनाएको थियो।
मूलपानी मैदानमा आज एपीएफ क्लबसँगको खेलमा पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनायो। टस हारेर ब्याटिङ गरेको पुलिसका लागि चार खेलाडीले अर्धशतक पुर्याए। शङ्कर राना ६१, दिनेश खरेल ६०, दिलसाद अली नटआउट ५१, र कप्तान आरिफ शेख ५० रन बनाए। एपीएफका कमल ऐरी र अमर रौटेलाले २–२ विकेट लिए। एपीएफ अहिले पुलिसले दिएको ३५६ रनको लक्ष्य पछ्याइरहेको छ।
त्यस्तै, तल्लो मूलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो। बागमतीका ईशान पाण्डे ७१ र आशुतोष घिरैयाले ५९ रन बनाए। गण्डकीका कमल परियारले २ विकेट लिए। गण्डकी अहिले बागमतीले दिएको लक्ष्य पछ्याइरहेको छ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हिजोदेखि शुरू भएको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोली सहभागी छन्। खेलहरू काठमाडौँको मूलपानी मैदान, मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा सञ्चालन भइरहेको छ। प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
यस पटकको प्रतियोगितामा पुलिसको बलियो ब्याटिङ प्रदर्शनले रेकर्ड निर्माण गरेको छ भने अन्य टोलीहरू प्रतिस्पर्धात्मक प्रदर्शनका लागि तयार छन्।
