झापा – हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने बहानामा रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकका अनुसार ठगी र अपराधिक लाभको आरोपमा दमक नगरपालिका–९ का ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका–६ खैरबारीका ३२ वर्षीय सुमन खड्का पक्राउ परेका छन्।
प्रहरीका अनुसार, मिति २०८२ फागुन २५ गते कमल गाउँपालिका–६ गुवाबारी सडक खण्डमा अवैध लागुऔषध खैरो हिरोइनसहित लक्ष्मण राजवंशी पक्राउ परेका थिए। उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको समयमा आरोपी दनुवार र खड्काले हिरासतबाट छुटाइदिने बहानामा उनका दाजु रामप्रसाद राजवंशी संग विश्वासमा पारेर १ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ।
पीडितको उजुरीका आधारमा प्रहरीले मिति २०८२ फागुन ८ गते दुवै जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा अपराधिक लाभ कसूरमा मिति २०८२ चैत ९ गते जिल्ला अदालत झापाबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले थप अनुसन्धानका क्रममा अन्य संभावित सहभागीको पहिचान र घटना क्रमको पूर्ण विवरण पत्ता लगाउने तयारी गरेको छ। यस घटनाले झापामा लागुऔषध र ठगीसम्बन्धी अपराधविरुद्ध सुरक्षा निकायको सतर्कता आवश्यक रहेको देखाएको छ।
