कपिलवस्तु – जिल्लामा तीन दिनदेखि जारी निषेधाज्ञा मंगलवार बिहान नौ बजेबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले नागरिकको जीवनयापन सहज बनाउन र शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्दै यो निर्णय गरेको जनाएको छ।
निषेधाज्ञा महाराजगन्ज नगरपालिका वडा नं. २ बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबीच भएको विवादपछि जारी गरिएको थियो। उक्त विवाद उग्र रूप लिएपछि जिल्लाको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सभा, जुलुस, भेला र प्रदर्शन गर्न रोक लगाउन प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। महाराजगन्ज नगरपालिकामा शनिवार दिउँसो २ बजेदेखि र कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा आइतबार दिउँसो १ बजेबाट निषेधाज्ञा लागू गरिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरेका अनुसार, “जिल्लाको अवस्था सामान्य हुँदै गएको र शान्ति सुरक्षाको अवस्था स्थिर भएकोले निषेधाज्ञा हटाइएको हो। नागरिकहरूले अब सामान्य जीवनयापन गर्न सक्नेछन्।”
उक्त विवादको क्रममा बर्गदा स्थित काली मन्दिरमा तोडफोड गर्ने काममा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। पक्राउ परेकाहरूमा सलमान खा पठान, मेहतान अहमद धुनिया, अब्दुल अख्तर खा, अजमत अली मुसलमान, राहत हुसेन मुसलमान र माहोम्मद हुसेन मुसलमान रहेका छन्। प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार, “पक्राउ परेकाहरूविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको छ र अनुसन्धान जारी छ।”
स्थानीयवासीहरूले विवादपछि जिल्लाको दक्षिणी क्षेत्र असुरक्षित रहेको अनुभव गरेका थिए। प्रशासनको सक्रिय कदम र सुरक्षा व्यवस्था मिलाउँदा सोमबार साँझदेखि शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको थियो।
जिल्ला प्रशासनको यो कदमले आगामी दिनमा समुदायबीचको तनाव कम गर्ने र नागरिकको दैनिक जीवनयापन सहज बनाउने अपेक्षा गरिएको छ। साथै, मन्दिर तोडफोडमा संलग्न पक्राउ परेका व्यक्तिहरूमाथि उचित कानुनी कारबाही हुने प्रशासनले सुनिश्चित गरेको छ।
यसैबीच, प्रशासनले सबै समुदायका प्रतिनिधिसँग समन्वय गरी सामाजिक सद्भाव कायम राख्न र भविष्यमा यस्ता विवाद दोहोरिन नदिन पहल थाल्ने जनाएको छ।
