कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले मातहतका कार्यालयलाई आवश्यक निर्देशन दिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक कार्यालय र अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूलाई भर्चुअल बैठकमार्फत मार्गनिर्देशन दिएका हुन्। बैठकमा ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा संक्षिप्त जानकारी दिँदै आवश्यक निर्देशन प्रदान गरिएको जनाइएको छ।
उनीले ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई प्रभावकारी बनाउन मातहतका कार्यालयहरूले कानुनअनुसारका कामहरू प्रभावकारी रूपमा लागू गर्नु, गैरव्यावसायिक आचरण नियन्त्रण गर्नु र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने बताए। “मुलतः ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट गरेका जिम्मेवारीहरू पूर्ण रूपमा कार्यान्वयन गर्न, गैरकानुनी आचरण नियन्त्रण गर्न र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएको छु,” रिजालले भने।
प्रहरी उपरीक्षक रिजालले ट्राफिक व्यवस्था र सडक सुरक्षालाई सुदृढ बनाउन आफ्नो क्षेत्रमा सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गर्न ट्राफिक प्रमुखहरूलाई सुझाएका छन्। उनले कर्णाली प्रदेशमा ट्राफिक व्यवस्थापन व्यवस्थित गर्न र बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक रणनीति अपनाउन सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।
बैठकमा सहभागी ट्राफिक प्रमुखहरूले आआफ्ना क्षेत्रमा भोगिएका समस्या, चुनौती र अनुभव प्रस्तुत गरेका थिए। प्रहरी उपरीक्षक रिजालले ती समस्या समाधानका लागि आवश्यक मार्गनिर्देशन प्रदान गरिएको जानकारी दिएका छन्।
यस निर्देशनपछि कर्णाली प्रदेशमा सडक सुरक्षामा सुधार आउँने र ट्राफिक व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
