नयाँ सरकारको गठन प्रक्रिया अघि बढेसँगै नेकपा (एमाले)मा संसदीय दलको नेता को हो भन्ने बहस चलिरहेको छ। पार्टी नेतृत्व परिवर्तनको विषयमा छलफल भइरहँदा संसदीय दलमा युवा नेतृत्व अगाडि आउनुपर्ने माग उठिरहेको छ। यसैबीच, इलाम क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद सुहाङ नेम्बाङको नाम संसदीय दलको नेता बन्ने सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेको छ।
समानुपातिक प्रणालीबाट सांसद भएका उपाध्यक्ष रामबहादुर थापा बादल पनि संसदीय दलको नेता बन्ने चर्चा चलाइरहेका छन्। यस्तै एमालेमा ऐन महर र सचिव पदमा अर्यालको नाम पनि नेताका रूपमा अघि सार्ने बहस केहीले सुरु गरेका छन्।
सुहाङका अनुसार, कानुन बुझ्ने र दखल राख्ने युवा सांसदलाई नेतृत्वमा ल्याउँदा सदनमा एमालेको दरो प्रदर्शन हुने अपेक्षा राखिएको छ। उनले भने, “संसदीय दलको नेतामा जिम्मेवारी आए खुट्टा नकमाउने छु। कुनै पनि युवा अगाडि आए म सहयोग गर्ने प्रतिबद्धता राख्छु। नयाँ सरकारले जनतासँग गरेका वाचा पुरा गर्नुपर्छ, त्यसमा सदैव साथ दिनेछु।”
उनले प्रतिपक्षी भएर विरोध मात्र गर्ने कुरा नगर्ने बताए। “देशलाई सफल बनाउनका लागि थुप्रै नियम कानुन अगाडि बनेका छन्। केही हल्का त्रुटि भए त्यसलाई सच्याउन हामी साथ दिन्छौं,” उनले भने।
सुहाङले थप जानकारी दिए, “पार्टीमा संसदीय दल, प्रमुख सचेतक र सचेतक चयन गर्ने प्रक्रिया अझै अघि बढ्न सकेको छैन। अध्यक्ष शोकमा हुनुहुन्छ, त्यसकारण औपचारिक छलफल हुन सकेको छैन। तर छिट्टै छलफल हुनेमा म विश्वस्त छु।”
संसदीय दलको नेतामा आफ्नो इच्छा खुलेर दावी नगर्ने भन्दै उनले भने, “अग्रजहरूले आवश्यकता ठानेर जिम्मेवारी दिनुभयो भने खुट्टा कमाउँदिनँ। म नै हुनुपर्छ भन्ने छैन, कुनै पनि युवा अगाडि आए म साथ दिनेछु। युवा पुस्तालाई अगाडि सार्दा पार्टीलाई फाइदा पुग्नेछ।”
संसदीय दलमा जिम्मेवारी आए पूर्णतया निभाउने तयारी भएको उनले स्पष्ट पारे। “संविधान अनुसार उपसभामुख प्रतिपक्षीलाई दिने चलन छ। संसदीय दलको नेता चयनपछि र सांसदहरूले सपथ ग्रहण गरेपछि यसबारे छलफल हुनेछ,” उनले भने।
एमालेले संसदमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि सुहाङले दोहोर्याए। “सत्तापक्षले देश र जनता हितमा काम गर्यो भने एमालेले विरोधका लागि विरोध गर्दैन। कमजोरी देखिएमा सम्झाउने र सुझाव दिने काम हामी गर्नेछौं,” उनले बताए।
नेतृत्व परिवर्तनको विषयमा प्रश्न गर्दा सुहाङले भने, “युवाको ऊर्जालाई पार्टीले सही रूपमा सदुपयोग गर्छ भन्नेमा म विश्वस्त छु। हाम्रो नेतृत्वले देश र जनताको चाहना अनुसार पार्टीलाई अगाडि बढाउने तयारीमा छन्।”
सुहाङको दृष्टिकोणले देखाउँछ कि नयाँ नेतृत्व चयन र संसदीय दलको संगठनमा युवा सहभागिता, कानुन र अनुभवको संयोजन गरिनुपर्ने आवश्यकता पार्टीमा बलियो छ। उनले युवा पुस्तालाई अगाडि ल्याएर एमालेलाई सकारात्मक दिशामा अघि बढाउने भरोसा व्यक्त गरेका छन्।
