कोलम्बियामा भएको सैन्य विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। कोलम्बियाली अधिकारीहरूले जानकारी दिएका अनुसार देशको दक्षिणी भागमा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटनाग्रस्त भएको हो। यस घटनामा कम्तिमा ६६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जनाइएको छ।
सैन्य स्रोतका अनुसार मृतकमध्ये ५८ जना सैनिक, ६ जना वायुसेना कर्मचारी र २ जना प्रहरी अधिकारी रहेका छन्।
रोयटर्सका अनुसार, कोलम्बियाली वायुसेना प्रमुख मेजर जनरल कार्लोस फर्नान्डो सिल्भाले विमानमा ११४ सैनिक र ११ चालक दलका सदस्य रहेको बताएका छन्।
दुर्घटना पेरुभियन सीमा नजिकै दक्षिणी अमेजन क्षेत्रको प्यूर्टो लेगुइजामोमा भएको हो। दुर्घटनाग्रस्त विमान अमेरिकी निर्मित सी-१३० हर्कुलस थियो, जुन सेना ढुवानीका लागि प्रयोग गरिन्छ। विमान उडेर करिब डेढ किलोमिटर पर पुग्नासाथ दुर्घटनाग्रस्त भएको थियो।
कोलम्बियाली रक्षामन्त्रीले पेरुभियन सीमा नजिकै भएको घटनालाई देशका लागि अत्यन्त दुखद् घटना भएको बताएका छन्। दुर्घटनापछि विमानमा आगलागी भएको र भित्र भण्डारण गरिएको गोला–बारुद विस्फोट भएको थियो।
यो कोलम्बियाली वायुसेनाको इतिहासमा सबैभन्दा घातक दुर्घटनाहरूमध्ये एक मानिएको छ। कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले दुर्घटनामा शोक व्यक्त गरेका छन्।
सी-१३० हर्कुलस विश्वको सबैभन्दा भरपर्दो सैन्य यातायात विमानमध्ये एक हो। यो विमान सेना, हतियार र राहत सामग्री ढुवानीका लागि प्रयोग गरिन्छ र कठिन तथा कच्चा धावनमार्गमा पनि अवतरण गर्न सक्षम छ। यसले एक पटकमा भारी कार्गो, हेलिकप्टर, बख्तरबन्द सवारी साधन र ठूलो मात्रामा राहत सामग्री बोक्न सक्छ।
