इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा पछिल्ला तीन वर्षमा विस्थापन शिविरहरूमा भोकमरी र औषधिको अभावका कारण एक हजार तीन सयभन्दा बढी मानिसको मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन्।
टिग्रे क्षेत्रको सामाजिक मामिला कार्यालयका निर्देशक गेब्रेसेलासी तारेके (Gebreselassie Tareke) ले समाचार संस्था एएफपीसँग कुरा गर्दै सन् २०२० यता शिविरहरूमा बसिरहेका आन्तरिक रूपमा विस्थापित नागरिकहरूको अवस्था अत्यन्तै दयनीय बन्दै गएको जानकारी दिएका छन्। उनका अनुसार तीन वर्षमा मृत्यु हुनेको संख्या एक हजार ३०९ पुगेको छ।
अफ्रिकी सङ्घको अनुमानअनुसार सन् २०२० देखि २०२२ सम्म इथियोपियाको संघीय सरकार र टिग्रे क्षेत्रका विद्रोही समूहबीच भएको गृहयुद्धमा कम्तीमा ६ लाख मानिसको ज्यान गएको थियो। युद्धका कारण करिब एक लाख मानिस अझै पनि विभिन्न शिविरहरूमा विस्थापित भएर बस्न बाध्य छन्।
निर्देशक तारेकेका अनुसार शिविरहरूमा बसिरहेका मानिसहरू भोकमरी, औषधिको अभाव र न्यून सहयोगका कारण लगातार जोखिममा छन्। उनले संघीय सरकारबाट पर्याप्त सहयोग नपाइएको र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि आफ्नो सहायता घटाउँदै गएको बताएका छन्। “स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ,” उनले भने।
राजनीतिक तनाव चर्किएपछि राजधानी अड्डिस अबाबा (Addis Ababa) ले केही महिनाअघि टिग्रे क्षेत्रमा दिँदै आएको आर्थिक सहयोग रोकिएको बताइएको छ। यसले विस्थापितहरूको जीवन अझ कठिन बनाएको छ।
गत नोभेम्बर र जनवरी महिनामा इथियोपियाली सेना र टिग्रे क्षेत्रका लडाकुहरूबीच पुनः झडप भएको थियो। संघीय सरकारले टिग्रे पीपुल्स लिबरेसन फ्रन्ट (Tigray People’s Liberation Front – TPLF) ले इरिट्रियासँग सम्बन्ध विस्तार गरिरहेको आरोप लगाएको छ।
यता इरिट्रिया (Eritrea) ले भने इथियोपियाले आफ्नो बन्दरगाह सहर अस्साब कब्जा गर्ने योजना बनाएको आरोप लगाएको छ। दुवै देशको सीमामा केही सातादेखि सैनिक गतिविधि बढ्दै गएको छ।
यसैबीच संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क (Volker Türk) ले दुवै पक्षलाई तत्काल तनाव कम गर्न आग्रह गरेका छन्। उनले थप ढिलाइ भए मानवीय संकट झनै गम्भीर बन्ने चेतावनी दिएका छन्।
