पर्वत जिल्लाको कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल बोकेर फलेवासतर्फ जाँदै गरेको ग १ ज ८०२९ नम्बरको जिप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा ३५ वर्षीय चालक सज्जन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जिपमा चालक परियार एक्लै सवार थिए। दुर्घटनापछि उनलाई उद्धार गरी अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रहरीका अनुसार वर्षाका कारण उकालो सडक चिप्लो भएकाले जिप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
उद्धार कार्य सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा सम्पन्न गरेको सशस्त्र प्रहरीका उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिएका छन्।
