काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आएको कमजोर परिणामको समीक्षा गर्न र सुझाव मागेका छन्। सोमबार सामाजिक सञ्जालमा उनले पार्टीका कमरेड, बुद्धिजीवी, दाजुभाइ–दीदीबाहीनी र समर्थकहरूलाई सुझाव पठाउन आग्रह गरेका छन्।
भट्टराईले लेखेका छन्, “नेकपा एमालेजस्तो लोकप्रिय, बलियो जनआधार र संगठन भएको पार्टी किन यस्तो अवस्थामा पुगेको? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्दछ। समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्दछ।”
उनले पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्नुपर्नेमा जोड दिँदै सुझावमार्फत जिम्मेवारी किटान र जवाफदेहिताको प्रश्न हल गर्न सकिने बताए।
भट्टराईले मुख्यतया निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा सम्भावित आन्तरिक र बाह्य कारण, पार्टीको रूपान्तरण र सुधारका उपाय, र एमालेका सवल, कमजोर र सम्भावना भएका पक्षहरूबारे सुझाव मागेका छन्।
सुझाव पठाउन इच्छुकहरूले उनका उपलब्ध गराएका इमेल र ह्वाट्सएप नम्बर प्रयोग गर्न सक्ने जानकारी दिइएको छ।
