काठमाडौँ । डाँका र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी खिल बहादुर तामाङलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ। उनी शैलुङ गाउँपालिका–४, दोलखाका मूल निवासी हुन् र हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, बौद्ध बेशी बस्दै आएका थिए।
दोलखा जिल्ला अदालतले २०७४ पुस ४ गते सुनाएको फैसला अनुसार तामाङलाई १० वर्ष कैद र १ लाख १८९ रुपैयाँ बिगो भराउने आदेश दिएको थियो। त्यसयता उनी फरार थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिएका छन्।
