वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पछिल्लो वार्ता अत्यन्त सकारात्मक र उपलब्धिमूलक भएको बताएका छन्। विगत दुई दिनदेखि जारी सघन छलफलपछि ट्रम्पले मध्यपूर्वमा जारी युद्ध र तनावको पूर्ण समाधानका लागि कुराकानी ‘धेरै राम्रो र उत्पादक’ रहेको बताए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा यस वार्ताको प्रकृति गम्भीर, विस्तृत र रचनात्मक रहेको उल्लेख गर्दै इरानसँगको संवाद यसै हप्ताभरि जारी रहने जानकारी दिएका छन्। अमेरिकी पक्षले इरानसँगको सम्बन्धमा देखिएका जटिलता हटाउन कूटनीतिक पहललाई तीव्रता दिएको देखिन्छ।
यसै सन्दर्भमा ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयलाई इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने सबै सम्भावित सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन्। यो स्थगन जारी वार्ता र छलफलको सफलतामा निर्भर रहने उनले स्पष्ट पारेका छन्। ट्रम्पले यो निर्णय वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि लिएको उल्लेख गरेका छन्।
विशेषज्ञहरूले यो वार्ता मध्यपूर्वमा लामो समयदेखि जारी सैन्य तनावलाई केही समयका लागि मत्थर पार्ने संकेत भएको मूल्याङ्कन गरेका छन्।
