चितवन । पश्चिम एसियामा बढ्दो सैन्य तनावको प्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको छ। हवाई यात्रा महँगो र असुरक्षित भएको कारण नेपाल घुम्न आउने धेरै विदेशी पर्यटकले सौराहामा यात्रा रद्द गरेका छन्। व्यवसायीहरूले भारत, चीन र अष्ट्रेलियाबाहेकका देशबाट आउने पर्यटकको बुकिङ कम भएको बताएका छन्। विगतका वर्षमा यस समयमा सौराहाका होटलहरू करिब ८० प्रतिशत भरिने गरेको भए पनि यस वर्ष केवल २० प्रतिशत हाराहारी मात्र कोठा भरिएका छन्।
निर्वाचनका कारण १५ दिन प्रभावित बनेको सौराहाको पर्यटन क्षेत्रमा त्यसपछि मध्यपूर्वको द्वन्द्वले थप असर गरेको हो। क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले फेब्रुअरी, मार्च र अप्रिल सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताए। उनले भने, “द्वन्द्व भएका मुलुक बाहेकका देशहरूबाट पनि पर्यटकहरूले बुकिङ रद्द गरेका छन्। ठूलो एजेन्सीहरूले अधिकांश बुकिङ रद्द गरेका छन्। आकाश असुरक्षित भएपछि को घुम्न आउँछ र?”
सङ्घका उपाध्यक्ष गुणराज थपलियाले नेपाली पर्यटकहरू समेत अहिले भ्रमण गर्न कम भएको र द्वन्द्वका कारण महँगी र विदेशमा रहेका आफन्तको चिन्ता भित्रिने भएकाले उत्साह घटेको बताए। पर्यटन व्यवसायी सुमन घिमिरेले आफ्नो होटलमा ५० प्रतिशत बुकिङ रद्द भएको र यदि द्वन्द्व तुरुन्त रोकिएमा क्रमशः सुधार हुने बताएका छन्। उनले मुख्यत: युरोपियन, बेलायती, अमेरिकी र जर्मन पर्यटकले यात्रा स्थगित गरेको उल्लेख गरे।
वनवास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले पनि मध्यपूर्व तनावका कारण बुकिङ रद्द भएको बताए। पर्यटन व्यवसायी सन्तोष गिरीले एयरलाइन्स र ट्रान्जिट बन्द भएपछि विदेशी पर्यटकले नेपाल भ्रमण स्थगित गरेको बताए।
सौराहामा हाल १४८ वटा होटल छन्, जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ। प्रत्यक्ष रूपमा ६ हजार ४०० तथा अप्रत्यक्ष रूपमा १२ हजारभन्दा बढीले रोजगारी पाएका छन्। सौराहा क्षेत्र वन्यजन्तु र थारू संस्कृति लगायतका कारण पर्यटकका लागि आकर्षक मानिन्छ। तर, मध्यपूर्व द्वन्द्वले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ र व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
