गुल्मी, चैत ९ गते। गुल्मी जिल्लाका दुई स्थानमा गोठमा आगलागी हुँदा ठूलो भौतिक क्षति भएको छ भने मानवीय तथा पशुचौपायामा कुनै क्षति भएको छैन। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रुरु गाउँपालिका–४ रानीबासस्थित कपिल श्रेष्ठको कच्ची काठले बनेको र टिनले छाएको एकतले गोठमा दाना पकाउने क्रममा सोमबार अचानक आगलागी भएको हो। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै भित्र रहेका दाना र काठ पनि जलेर नष्ट भएका छन्। आगोको प्रभावले नजिकै रहेका गिरिप्रसाद श्रेष्ठको घरको पालीमा सामान्य क्षति पुगेको छ।
त्यस्तै, चन्द्रकोट गाउँपालिका–८ का ज्ञानेश्वर गौतमको ढुङ्गा–माटोले बनेको एकतले कच्ची गोठमा पनि आगलागी भएको छ। उक्त आगलागीबाट गोठको छानो र करिब ३० भारी खर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दुवै घटनामा मानवीय तथा पशुचौपायामा क्षति नभएको र आगो प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।
