सप्तरी । सप्तरीमा १४ वर्षीया एक किशोरी गर्भवती बनाएपछि बेपत्ता पारिएको आशंकासहित प्रहरीमा उजुरी परेको छ। सुरुंगा नगरपालिका–३ की ती बालिका फागुन ३० गतेदेखि हराएको भन्दै उनकी भाउजू रितादेवी सदाले इलाका प्रहरी कार्यालय कडरबोनामा चैत ४ गते उजुरी दिएकी हुन्।
रितादेवीका अनुसार बालिका विगत ७/८ वर्षदेखि स्थानीय महेश्वर यादवको घरमा बस्दै घरेलु काम गर्दै आएकी थिइन्। उनले घरधनी र उनका छोराविरुद्ध किशोरीलाई गर्भवती बनाएपछि बेपत्ता पारिएको आरोप लगाउँदै सत्यतथ्य अनुसन्धान गरी कारबाही गर्न माग गरेकी छन्।
बालिका हराएपछि सोधपुछ गर्दा घरधनीले आफूलाई जानकारी नभएको बताएका थिए। तर, गर्भवती भएकै कारण उनलाई लुकाइछिपाई अन्यत्र लगेर गर्भपतन गराइएको हुनसक्ने आशंका परिवारको छ।
घटनाको विरोधमा बालिकाका आफन्तहरूले आइतबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका छन्। प्रहरीले अनुसन्धानका लागि एक साता समय मागेको र सो अवधिसम्म पर्खिने परिवारको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बरबहादुर पुरीका अनुसार चैत ५ गते उजुरी दर्ता भई घटनालाई गम्भीर रूपमा लिएर खोजी तथा अनुसन्धान भइरहेको छ। “बालिकाको खोजी जारी छ, अहिलेसम्म भेटिएकी छैनन्,” उनले भने।
प्रारम्भिक अनुसन्धानमा बालिकालाई उनका दिदीहरूले लगेको हुनसक्ने संकेत मिले पनि उनीहरू हालसम्म प्रहरी सम्पर्कमा आएका छैनन्। प्रहरीले उनीहरूको घरमा पुग्दा पहिलो दिन भिनाजु मात्र भेटिएका थिए भने अर्को दिन कोही पनि भेटिएनन्।
यसैबीच, बालिका बस्दै आएको घरका सदस्यहरू पनि सम्पर्कविहीन रहेका छन्। घरधनी महेश्वर यादव र उनका छोराहरू काठमाडौंमा बस्ने गरेको बुझिएको छ भने उनकी श्रीमती केही दिनदेखि बिदामा रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार बालिका, उनका आफन्त तथा सम्बन्धित व्यक्तिहरू सबैको खोजी भइरहेको छ। घटनाको वास्तविकता बालिका भेटिएपछि मात्र स्पष्ट हुने बताइएको छ।
