जुम्ला । जुम्लामा सरकारी सम्पत्तिको दुरुपयोग भएको घटना सार्वजनिक भएको छ। सरकारी नम्बर प्लेटको मोटरसाइकल चलाउने व्यक्ति नै मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा फेला परेपछि राज्य संयन्त्रभित्रको लापरबाही र गैरजिम्मेवारीमाथि प्रश्न उठेको छ।
आइतबार साँझ जिल्ला ट्राफिक कार्यालय जुम्लाले नियमित मापसे चेकजाँचका क्रममा क१ब १८६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। प्रत्यक्षदर्शीका अनुसार सो मोटरसाइकल चलाउने व्यक्ति मादक पदार्थ सेवन गरेर लर्बराएको अवस्थामा थिए। ट्राफिक प्रहरीले आवश्यक कारबाहीस्वरूप जरिबाना तिराएर छाडेको जनाएको छ।
तर, उक्त मोटरसाइकल कुन सरकारी कार्यालयको हो र चालक को हुन् भन्ने अझै खुल्न सकेको छैन। सोधपुछका क्रममा चालकले ‘मलाई थाहा छैन’ भन्ने जवाफ दिएको जनाइएको छ, जसले घटनालाई थप शंकास्पद बनाएको छ।
सरकारी नम्बर प्लेट भएको सवारी साधन निजी प्रयोजनमा प्रयोग हुनु नयाँ विषय नभए पनि मापसे गरेर सार्वजनिक सडकमा चलाउनु कानुनको ठाडो उल्लङ्घन मात्र होइन, राज्य सम्पत्तिको गम्भीर दुरुपयोग भएको रूपमा हेरिएको छ। यस घटनाले सम्बन्धित निकायको निगरानी र जवाफदेहितामाथि प्रश्न उठाएको छ।
