काठमाडौँ । पश्चिम नेपालका विभिन्न जिल्लामा १२ घण्टाको अन्तरालमा दुई वटा भूकम्पका धक्का महसुस गरिएको छ।
सोमबार दिउँसो १:१४ बजे बझाङको रयाल केन्द्रबिन्दु बनाएर ४.१ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि सोही दिन बिहान ३:५१ बजे दार्चुलाको मुराइ केन्द्रबिन्दु भएर ४.२ म्याग्नीच्युडको अर्को भूकम्प गएको थियो।
पछिल्लो समय सुदूरपश्चिमका जिल्लामा साना तथा मध्यम खालका भूकम्पहरू निरन्तर महसुस भइरहेका छन्। यसअघि चैत ३ गते दार्चुलाको सिटौला केन्द्रबिन्दु भएर ४.० म्याग्नीच्युडको भूकम्प गएको थियो भने गत फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्र बनाएर ३.६ म्याग्नीच्युडको भूकम्प रेकर्ड गरिएको थियो।
भूकम्पका कारण हालसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त नभए पनि सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन्।
