कैलाली । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा १२ दिने जलयात्रा (र्याफ्टिङ) महोत्सव आजदेखि सुरु भएको छ।
कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका अनुसार डोटीको दिपायलस्थित सेती नदीबाट सुरु भएको जलयात्रा कर्णाली नदी हुँदै चिसापानीसम्म पुग्नेछ।
महोत्सवको उद्देश्य सुदूरपश्चिम क्षेत्रमा जलयात्रा पर्यटनको सम्भावना उजागर गर्नु, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नु र साहसिक पर्यटनलाई सुरक्षित तथा व्यवस्थित रूपमा प्रवर्द्धन गर्नु रहेको इकाइ प्रमुख डबलबहादुर बोहराले जानकारी दिए। उनका अनुसार महोत्सवमा विभिन्न देशका पर्यटकसहित २५ जना सहभागी छन् भने २५ जना नेपाली र्याफ्टिङ गाइड र चालक टोलीमा संलग्न छन्।
प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जलयात्रा पर्यटनमार्फत रोजगारी सिर्जना, पर्यटन पुनरुत्थान तथा आन्तरिक–बाह्य पर्यटन विस्तारमा महोत्सवले टेवा पुग्ने विश्वास व्यक्त गरे।
प्रदेश सरकारको करिब ७ लाख ५० हजार रुपैयाँ लागतमा आयोजना गरिएको महोत्सव डोटीको बोगटान फुड्सिल गाउँपालिका, कैलालीको मोहन्याल गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाको सहकार्य तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सञ्चालन भइरहेको छ।
