खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले निर्माणाधीन आधारभूत अस्पतालको काम अलपत्र पारेको भन्दै ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ। नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माण भइरहेको १५ शय्याको अस्पताल भवन समयमै सम्पन्न नभएपछि निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिइएको हो।
नगर प्रमुख विमला राईका अनुसार ठेक्का सम्झौताअनुसार आवश्यक निर्माण सामग्री र जनशक्ति परिचालन गरी काम सुरु नगरेसम्म गाडी, साँचो र दर्ता प्रमाणपत्र नियन्त्रणमै राखिनेछ। २०८० सालमै सम्पन्न हुनुपर्ने अस्पताल भवनको पहिलो चरणसमेत पूरा नभएको र पटक–पटक ताकेता गर्दा पनि प्रगति नभएपछि यस्तो कदम चालिएको उनले बताइन्। यसबारे जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराइसकिएको छ।
नगरपालिकाले ठेकेदारसँग लिखित प्रतिबद्धता गराउँदै १२ चैतदेखि पुनः निर्माण कार्य सुरु गर्ने सहमति गराएको छ। सहमतिअनुसार ४५ दिनभित्र बेसमेन्ट कभर स्ल्याब, ६० दिनभित्र पहिलो तलाको स्ल्याब र त्यसपछि अर्को ६० दिनभित्र दोस्रो तलाको स्ल्याब निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्धारित समयभित्र काम नगरे कानुनी कारबाही भोग्ने शर्तसमेत राखिएको छ।
यसअघि ठेकेदार सम्पर्कविहीन भएपछि नगरपालिकाले ‘ब्ल्याकलिस्ट’मा राख्ने चेतावनी दिएपछि मात्र सम्पर्कमा आएको जनाइएको छ। नमुना/हिमालयन जेभीले २०७८ साउन ८ मा ठेक्का सम्झौता गरी २०८० साउनभित्र काम सक्ने प्रतिबद्धता जनाएको थियो। तर, दुई वर्ष ढिला हुँदा पनि निर्माण कार्य जगभन्दा माथि उठ्न सकेको छैन।
परियोजनाका लागि करिब ४ करोड ११ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। ठेकेदार कम्पनीले भने भौगोलिक अवस्थाका कारण डिजाइन परिवर्तन गर्नुपरेको र मन्त्रालयबाट स्वीकृति ढिलो हुँदा काम प्रभावित भएको दाबी गर्दै आएको छ।
नेपाल सरकारको नीति अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु गरिएको थियो। तर, कतिपय स्थानमा निर्माण ढिलाइ र अलपत्रको समस्या देखिएको छ।
